काठमाडौंको हनुमानढोका, पशुपतिनाथ, पाटन, भक्तपुर, नक्साल, भगवतीवहाल ज्ञानेश्वरको ढुङ्गेधारा नजिकका मन्दिरहरु लगायत उपत्यका भित्रका अन्य मन्दिरहरुका टुडाल र वाहिरी भितामा लैङ्गीक आकर्षण गराउने मुर्तिहरु किन बनाइए? यी मुर्तिहरु बनाउने आवश्यकताको महशुस किन भयो भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्दछ । मन्दिरमा कुदिएका हुनाले विरोध गर्ने हिम्मत जुटाउन अप्ठ्यारो हुने भए पनि मन्दिर जस्तो पवित्र ठाउँमा यस्तो मुर्ति किन कुदियो होला भन्ने सबैको मनमा उठी नै रहन्छ ।

सामान्य जनमानसमा यस्ता मुर्तिहरुले मन्दिरलाई चट्याङ र आँधीवाट जोगाउछ भन्ने धारणा छ । इन्द्र र वरुण प्राकृतिक विपदहरु चट्याङ् र आँधीका देवता हुन् । इन्द्रकी कुमारी छोरी यमिनीलाई चट्याङ्की देवी मानिन्छ र देवताको मन्दिरमा उ पनि आकषिर्त हुनु स्वभाविक हो । तर कुमारी भएकीले यामिनी अति लज्जाशील छिन् यसकारण मन्दिरको भित्तामा नै यस्तो कामउत्तेजक मुर्तिको चित्रण गर्दा कुमारी यामिनि मन्दिरमा आउन लजाउछिन् र मन्दिर चट्याङ्बाट जोगिन्छ भन्ने धारणा छ । तर यो धारणालाई नै बिश्वास गर्ने आधार देखिदैन किनभने भारतको खजुराहोमा मात्र पहिला ८० ओटा यस्ता मन्दिर रहेकोमा हाल आएर २० वटा जति मात्र बाँकी छन् र धेरैको बिनासको कारण प्राकृतिक प्रकोप र चट्याङ् बाट नै भएको मानिन्छ ।

अर्को तर्क के छ भने भगवान बुद्ध र भगवान माहावीरको मुत्यु पछि जव श्रवण संस्कृति बिस्तारै शिखरमा पुग्यो, धेरै मानिस भिक्षु र संन्यासी हुन थाले । नालन्दा, बिक्रमशीला, तक्षशिलाबाट स्नातक भएका ७५ प्रतिशत भन्दा वढी बिद्यार्थीहरु विश्वविद्यालयवाट गृहस्थि आश्रममा प्रवेश गर्नुको साटो सोझै संन्यास आश्रममा दिक्षित हुन्थे । सानातिना राजाहरुबिच भइरहने युद्धका कारण पनि धेरै मानिस मर्ने गर्दथे । त्यसकारण गृहस्थि आश्रममा बस्ने युवाहरुको संख्या दिनानु दिन घट्न थाल्यो यसैले मन्दिरमा सबै प्रकारका मानिस आउने भएकोले मन्दिरमा नै काम वासनाको इच्छा जगाउने खालका मुर्तिहरु बनाएर, युवाहरुलाई संन्यासी हुनबाट जोगाउने र गृहस्थि आश्रममा तानेर धेरै सन्तानहरु जन्माई घटदो जनसंख्यालाई सन्तुलनमा राख्ने उद्देश्यले मन्दिरमा यस्ता चित्र बनाइएका हुन् भन्ने धारणा पनि रहि आएको छ ।

तर माथिका दुवै धारणलाई पुर्ण, विश्वासनीय मान्न सकिने खासै ठूलो आधार भेटिदैन । जिवनको सम्पर्णतालाई स्वीकार गर्नु पर्ने हुन्छ । जिवनका हरेक पक्षहरुलाई स्वीकार नगरी पर्ण जिवन जिउन सकिदैन । यस मन्दिरका बास्तविक निर्माता तान्त्रिकहरुको भनाई यो छ कि यी मन्दिरहरु तन्त्र साधनाको बिशिष्ट प्रयोगका लागी बनेका प्रयोगशालाहरु हुन् । यी मन्दिर बिशीष्ट वैज्ञानिक प्रयोजनको लागि निर्मित गरिएका हुन् । मन्दिरको बाहिरी भागमा यस्ता मुर्तिहरु भेटिए पनि मन्दिर भित्र भगवानका पवित्र मुर्ति, परम शान्ति र परम शुन्यता पाउन सकिन्छ । मन्दिरको भित्र प्रवेशको लागी बाहिरको काम उत्तेजक मुर्तिको दर्शन विना भित्र प्रवेश असम्भब छ । त्यसैले पहिला तन्त्र साधक साधीकाहरुलाई मन्दिरको वाहिरी भागमा रहेका यस्ता कामलाई उक्साउने खालका मुर्तिहरुलाई अवलोकन गर्न लगाइन्थ्यो । यसो गर्दा यदि उ उत्तेजित भयो भने उसलाई फेरी आत्मशुद्धिकालागी पठाइन्थ्यो, उसलाई भगवानको मुर्ति दर्शनको लागी लायक मानिदैन थियो । यसमा उर्तिण भएपछि मात्र मन्दिर भित्र रहेको भगवानको दर्शन प्रवेशको लागी अनुमति दिईन्थ्यो । त्यसैले यी मुर्तिहरु राख्नुको आवश्यकता मन्दिरको वाहिर काम छ, बासना छ यसलाई पार गरेपछि भित्र भगवान हुनुहुन्छ, परम शान्ति, परम शुन्यता छ भन्ने भनाई बढी बैज्ञानिक र जिवन उपयोगी देखिन्छ ।

साभार: www.RealNepal.com.np